स्वाद अन्तर – रवीन्द्र समीर

Short Story

राजधानीमा हुने विशाल आमसभाको लागि गाउँका सम्पूर्ण वयस्कहरुलाई खसीबोका लोड गरेझैँ बिर्खबहादुरको परिवारलाई उठेर यात्रा गर्नुपर्ने बसमा कोेचे स्थानीय नेताहरुले । त्यसो त उसले आफ्नो खेतीपाती रोप्ने समय भएकाले आमसभामा जान नमिल्ने बताएको थियो । के गर्नु नेताहरुले देश चलाउने भएपछि उनीहरुको भर नपरे कस्को भर पर्ने ? बेलामा उनीहरुको नारा र जुलुस बनिदिन सके भविष्यमा काम लाग्न सक्छ । ऊ जान बाध्य भयो । बाध्यतालाई नस्वीकारेर के गर्नु त ?

टुँडीखेलमा पुगेपछि उनीहरु बसबाट ओर्लिए । साह्रै भोक लागेकाले बिर्खबहादुर आफ्ना परिवारजनसँग ठूलो होटलमा पुग्यो । जिब्रोको स्वाद फेर्न चाउचाउ, पाउरोटी तथा चिसो पेय मगाएर उनीहरु कुनाको टेबलवरिपरि बसे ।
अरुले जस्तै उसले खुब मजाले खान थाल्यो । आधा पेट खाएपछि मात्र उसले यताउति हेर्ने फुर्सद पायो । नत्र त उसलाई भोक र मीठो स्वादले फुर्सदै दिएको थिएन । बिर्खबहादुरले वरिपरि दङ्ग पर्दै हेर्यो । सुकिलामुकिला तथा फेसनदार मान्छेहरु फापरको ढिँडो, गुन्द्रुकको झोल तथा सिस्नुको साग खाइरहेका थिए ।

बिर्खबहादुरले छक्क परेर गम्यो – सहरका ठूलाबडा निकै गरिब रहेछन् । हामीले गाउँमा सधैँ खाने, गुन्द्रुक, ढिँडो र सिस्नु खाँदा रहेछन् विचराहरु !

Leave a Reply