नयाँ कथा ( लघुकथा ) – रवीन्द्र समीर

Short Story

गाउँका युवाहरु विदेश गए । बुढाबुढी र केटाकेटी मात्र बाँकी रहे । यो पुरानो कथा हो ।

गाउँका बुढाबुढीहरु पनि विदेश जान थाले । कोही चार महिना, कोहि छ महिना, कोहि एक बर्ष विदेश बसेर गाउँ फर्कन थाले । चौतारोमा गफ गर्ने पुरानो चलन हो । उनीहरु चियापसल तथा घरघरमा जम्मा भएर गफ दिन थाले –‘हाम्रो नेपाल त खत्तमै रहेछ नि ! त्यहाँ त टोपी खस्ने महल, चिल्ला बाटा, समुन्द्र, जे खाए पनि पाइने…।’

कुनै जमानामा विदेश नगएका युवाहरु गाउँमा बस्न लाज मान्थे । आजभोलि विदेश नगएका बुढाबुढी गाउँमा बस्न लाज मान्न थालेका छन् ।

सेतै फुलेका तल्लाघरे बुढा लठ्ठी टेकेर धनबहादुरको घर आए र गर्वका साथ भने, –‘हैन तँ कति पटक विदेश गइस, हँ ? तेरा सबै छोराछोरी विदेश छन् ?’
उसलाई खुब लाज लाग्यो । उसले मनमनै भन्यो –‘विदेश गएर फुर्ति देखाउन आएको बुढो ? आफ्ना त छोराछोरी पनि मख्खिचुस परेछन्, यसो बाबुआमालाई बोलाउनु नि !’
तल्लाघरे बुढाले फेरी सोधे –‘तँ अस्ट्रलिया गइस् धने ?’

धनबहादुरले जवाफ दियो –‘भिसा र टिकट त धेरै पटक पठाए । ज्योतिषले जहाज चढे प्रलय हुन्छ भनेर पो मार्यो ।’

Leave a Reply