उपहार ( लघुकथा ) ~ रवीन्द्र समीर

Short Story

खाडीको मरुभूमिमा बिदेसिएको तीन वर्षपछि उसले एक महिनाको छुट्टी पायो । छुट्टी मिलेको थाहा पाएपछि उसले तुरून्त टिकट काट्यो । आफ्नो देश फर्कन पाएको खुसीमा फुर्किंदै उसले घरमा फोन गरेर भन्यो— ‘आजको दुई हप्तामा घर आउनेछु ।’
सहकर्मी साथीहरूलाई पनि उसले सुनायो— ‘बुझ्यौ ! आजको दुई हप्तामा केटो आफ्नै गाउँ पुग्छ ।’

कामबाट बचेको समयमा उसले किनमेल गर्ने विचार ग¥यो । बालाई फोटोसमेत खिच्न मिल्ने मोबाइल, आमालाई घडी र कपडा, श्रीमतीलाई चप्पल जत्रो मोबाइल, सिक्री र कपडा, छोराछोरीलाई कपडा । छिमेकका काकाहरूको परिवार, साथीहरू, विदेश जाँदा ऋण दिने कान्छा साहु, उधारो सामान दिने भक्ते दाइ, मावलीहरू, ससुराली, श्रीमतीका नजिकका आफन्त… निकै लामो लिस्ट बन्यो ।

छोराले आइप्याड भन्दै थियो । कालीले राम्रो क्यामेरा भनेकी थिई । छोरीले साथीहरूको घरमा टाँसेको जस्तै पातलो र लामो टिभी ल्याउनू भनेकी थिई । नजिकका मित्रहरुले आइफोनको आशा गरेका थिए । केहि साथीहरुले ड्युटी फ्रि सपबाट टन्नै स्कच ल्याउन सम्झाइरहेका थिए ।

उसले हिसाब ग¥यो । कतैबाट पनि हिसाब मिलेन । कसरी सन्तुलन मिलाउने होला भनेर धेरै बेरसम्म गम खाएर बस्यो ।
‘तीन वर्ष विदेश बसेको हामीलाई किन सम्झन्थ्यो ?’
‘जाबो एक चिज त रहर गरेको हो, तोलाको वचन खोलामा फालिएछ ।’
‘फलानो आउँदा त यो–यो ल्याएको थियो ।’

सामना गर्नुपर्ने यस्ता सम्भावित प्रश्नहरूको कठघरामा ऊ उभियो । त्यसपछि उसले बलियो तर क्रूर निर्णय ग¥यो । भोलिपल्ट घरमा फोन ग¥यो— ‘काम गर्ने ठाउँमा इमर्जेन्सी परेर छुट्टी मिलेन । कम्पनीले टिकट पनि क्यान्सिल गरिदियो । दुई वर्षपछि पक्का आउनेछु ।’

Leave a Reply